प्रधानमन्त्रीले राजीनामा नदिए नयाँ प्रक्रियाबाट ५ दिनमा सरकार बन्छ: गगन थापा

सफल खबर संवाददाता

विहीबार, २० असार २०८१, १६ : १४
प्रधानमन्त्रीले राजीनामा नदिए नयाँ प्रक्रियाबाट ५ दिनमा सरकार बन्छ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अल्पमतमा परिसकेपछि यताउता खेल्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । आज–भोलि मै प्रचण्डले राजीनामा दिने उनको विश्वास थियो । 

बिहीवार सुनसरीको इटहरीमा नगरसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डले राजीनामा नदिएमा एउटा प्रक्रियाबाट ४–५ दिनमा नयाँ सरकार बन्ने बताएका हुन् ।

 

‘आफू अल्पमतमा परेपछि फेरि यताउता खेल्न सकिएला कि ? कांग्रेस–एमालेलाई अलमल्याउन सकिएला कि भन्ने खालको कुरामा प्रचण्ड नअल्मलिने कुरा उहाँको स्वास्थ्यका लागि पनि उपयुक्त छ । 'देशका लागि पनि त्यो ठीक छ’ उनले भने, ‘मलाई विश्वास छ, उहाँले भरे-भोलिमा राजीनामा दिनु हुन्छ । दिनुभएन भने एउटा प्रक्रियाबाट ४–५ दिनभित्रै नयाँ सरकार बन्छ ।

महामन्त्री थापाले प्रचण्डको उपद्रोका कारण नयाँ सरकार बन्ने अवस्था सिर्जना भएको बताए । ‘प्रचण्डको उपद्रोबाट यति झुक्किसकिएको थियो कि, उहाँको चकचक सम्हाल्न सक्ने अवस्था थिएन । यो गठबन्धन बन्नुको एउटै कारण भनेको प्रचण्डको अस्थिर चरित्र हो । राजनीतिक मोलमोलाइ गर्ने काम बढेका कारण यो स्थिति सिर्जना भयो,’ थापाले भने ।

प्रत्येकपटक कांग्रेस र एमाले एउटा मिसनका साथ सरकारमा सामेल हुनेगरेको स्मरण गर्दै उनले यसपटक पनि केही नयाँ गर्नुपर्ने बताए । माओवादीको जगजगीमा ‘समाज यसरी निस्सासिएको छ, राजाको शासनमा पनि यति निसास्सिएको थिएन, अब यो समाजलाई हामीले आशा देखाउनु पर्नेछ,’ उनले भने । 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस