ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेसको चेतावनी

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, १९ : ४६
ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेसको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् ।

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्नेक्रममा उनले गृहमन्त्रीले काँग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गरे । उनले ब्ल्याकमेलिङको राजनीतिक नगर्न चेतावनीसमेत दिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगरौँ । काँग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, के-के खोल्ने हो खोलिन्छन्,’ उनले भने ।

उनले काँग्रेस सरकारमा जान आतुर रहेकाले चाँडोभन्दा चाँडो निकास सरकारलाई दिन आग्रह गरे । उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ । चाँडोभन्दा चाँडो सरकारले निकास दिनुपर्‍यो । चाँडोभन्दा चाँडो सरकारमा जान चाहन्छौँ । यो स्पष्ट कुरा हो ।’

उनले दुई धोका खाएका एमाले र काँग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस