२०८ किलो गाँजासहित पाँच जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, १६ : २४
२०८ किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले बारा, काठमाडौँ र वीरगन्जगरी तीन ठाउबाट २०९ किलो भन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।बाराको सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवालबाट अवैध लागूऔषध गाँजा २ सय  १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपाली रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ । प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ । 

त्यस्तै काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रूपैयाँसहित सोही ठाउँ बस्ने मोरङ बेलबारी गाउँपालिका-६ घर भएकी ३० वर्षीया निकु राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय २० ग्राम सहित पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगंज पर्साबाट खटिएको प्रहरीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा भारत पुर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा-२ बस्ने २२ वर्षीय नवरेज आलमको समेत उक्त लागूऔषध ओसारपसारमा संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।