ट्याङ्कर चालकलाई तलबसहित सामाजिक सुरक्षामा समेट्न माग

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १६ : २३
ट्याङ्कर चालकलाई तलबसहित सामाजिक सुरक्षामा समेट्न माग

काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर चालक र सहचालकहरूलाई मासिक तलब तोकेर मजदुरहरूको खातामा पठाउन व्यवस्था गर्न माग गरेको छ ।

साथै सङ्गठनले श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउनुपर्ने लगायत १२ बुँदे माग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुझाएको छ ।नेपाल आयल निगम लिमिटेडले चालक र सहचालकहरूलाई अहिलेसम्म तलबविना काम गराएर श्रम शोषण गरेको भन्दै सङ्गठनले चालक तथा सहचालकहरुको श्रम ऐन २०७४ अनुसारका सेवा सुविधाहरू लागु गर्न समेत माग गरेको हो ।

पेट्रोलियम ट्याङकरमा लकिङ सिस्टम सुरु भएपछि पनि इन्धन घट्बढ् हुँदा चालकलाई डबल जरिवाना गराउने निगमको गलत कार्य तत्काल बन्द गर्दै टेम्प्रेचर वर्किङ्गलस मजदुरलाई दिने व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

भारतबाट ढुवानी गरिने पेट्रोलियम पदार्थमा ५० लिटर कम भएमा ट्याङ्कर चालकलाई त्यसको दोब्बर जरिवाना गराउने नेपाल आयल निगम लिमिटेडको गलत नीति तत्काल सच्याउन माग गरिएको छ ।

मंगलबार संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईसहितका नेताहरूले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री भण्डारीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा निगम अध्यक्ष समेत रहेका दिनेशकुमार घिमिरेलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा श्रम ऐनले व्यवस्था गरेको सेवा सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूलाई तत्काल सहभागी गराउनु पर्ने माग समेटिएका छन् ।

नेपाल आयल निगम लिमिटेड पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ ले इन्धन ढुवानी सम्झौता गर्न ५ वटा ट्याङ्कर अनिवार्य गरेर स्वरोजगारहरू श्रमिकहरूलाई विस्थापित र ठुला लगानीकर्तालाई पक्षपोषण गर्ने भएकाले मजदुर विरोधी विनियमावली संशोधन गर्नुपर्ने पनि उनीहरूको माग छ । 

प्रतिक्रिया दिनुहोस