काठमाडौँ । बर्खा लागेसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । डेंगु रोगले महामारीको रूप लिनु अगावै यसको सेरोटाइप पहिचान गर्नुपर्ने विज्ञले औँल्याएका छन् ।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोगको सेरोटाइप पहिचान भएमा सोही अनुसार सतर्कता अपनाउन सकिने बताए । चिकित्सकका अनुसार पहिलो पटक डेंगु सङ्क्रमण हुँदा अधिकांशमा डेंगुको ‘सेरोटाइप–१’ हुन्छ । त्यस्ता व्यक्तिलाई फेरि डेंगु सङ्क्रमण हुँदा अधिकांशमा ‘सेरोटाइप–२’, ‘सेरोटाइप–३’ वा ‘सेरोटाइप–४’ हुने सम्भावना रहन्छ । यसले मानव स्वास्थ्यमा जटिलता हुने भएकाले डेंगु सेरोटाइपको पहिचान हुनुपर्ने पुनको तर्क छ ।
डेंगुको ‘सेरोटाइप–१’ भइसकेका व्यक्तिको शरीरले रोगप्रतिरोध क्षमता विकास गरिसक्ने भएकाले दोहोरिएर सङ्क्रमण हुँदा फरक सेरोटाइप देखिने विज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेंगु रोगको गम्भीर समस्या देखिएको बिरामीको ‘सेम्पल’ सङ्कलन गरेर राखेको जानकारी दिए । उनले महिना दिनको ‘सेम्पल’ सङ्कलन गरेर डेंगुको सेरोटाइप पहिचान गर्ने बताए ।
‘एक पटक डेंगु सङ्क्रमण भइसकेपछि एन्टिबडी बन्छ,’ उनले भने, ‘त्यही भएर पुनः डेंगु सङ्क्रमण भएमा सेरोटाइप–१ हुँदैन, सेरोटाइप २ वा ३ हुन सक्छ । हामीले महिना दिनको सेम्पल सङ्कलन गरेर मात्रै डेंगुको सेरोटाइप परीक्षण गर्ने छौँ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । सन् २०२४ को जनवरी महिनादेखि जुन २३ गतेसम्म देशभरका एक हजार २६८ जनामा डेंगु पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु
देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक संख्या १२ पुग्यो
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
देशभर १९ हजार बढी व्यक्तिमा डेंगु संक्रमण
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो