लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदैछ : उपेन्द्र यादव

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, १६ : ०१
लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदैछ : उपेन्द्र यादव

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको लोकतन्त्र  स्वेच्छाचारीतन्त्र मा बदलिँदै गएको टिप्पणी गरेका छन् ।नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष यादवले स्वेच्छाचारीतन्त्र बढ्दा लोकतन्त्र बिस्तारै कमजोर बन्दै गएको पनि बताए ।

उनले शासकहरूका कारण राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय छवि पनि बिग्रिएको बताए । ‘आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको छ’, उनले भने, ‘लोकतन्त्रको खतरा बाहिरबाट नभएर हामी भित्रैबाट भएको छ ।’ उनले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावहीन हुँदै गएको पनि बताए ।

‘लोकतन्त्र जनताको शासन हो तर दलतन्त्र, नेतातन्त्र र स्वेच्छाचारीतन्त्रमा बदलिँदै छ’, अध्यक्ष यादवले भने, ‘लोकतन्त्र समाप्त हुने खतरालाई जोगाउन जस्तै पचाउन पनि भूमिका खेल्नुपर्छ ।’ अध्यक्ष यादवले संविधान संशोधन र परिमार्जन गर्ने बेला भएको भन्दै त्यसो नगरे मुलुकलाई गति दिन नसकिने बताए ।