जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १६ : २१
जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै

काठमाडौँ । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव दक्षिण अमेरिकाको चिली भ्रमणमा जाने भएका छन् । चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरुका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव बुधबार मध्यराती कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको उनका निजी सचिवालयले जनाएको छ ।

सम्मेलन अक्टोबर ५ र ६ तारिखमा हुनेछ । थर्ड ग्लोबल कन्भेन्सन अफ दि प्रोग्रेसिभ एलाइन्सको उक्त सम्मेलनमा अध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालको अन्तर्राष्ट्रिय विभाग प्रमुख अर्जुन थापासहितको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ ।

अध्यक्ष यादवसहितको उक्त प्रतिनिधिमण्डल असोज २४ गते राति कतार एयरलाइन्सबाट स्वदेश फर्किने छ ।यसअघि गत भदौ २२ गते एक एनजिआकोे कार्यक्रममा भाग लिन भारत गएका थिए । त्यस्तै, साउन १३ गते  अध्यक्ष यादव फिलिपिन्सको मनिला गएका थिए ।

एसियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक)को गत जुलाई २९ तारिखमा भएको स्टेरिङ कमिटीको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका थिए ।

त्यसअघि गत वैशाख १५ गते पनि उपप्रधान तथा स्वास्थ्य मन्त्रीको रुपमा अध्यक्ष यादव अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा भएकै बेला उनको पार्टी विभाजन हुँदा भ्रमण छोट्याएर उनी वैशाख २४ गते नेपाल फर्केका थिए ।

उनी गत वर्षको असोज ११ गते पनि एउटा समाजिक संस्थाको कार्यक्रममा भाग लिन अमेरिका गएका थिए । गत वर्षको भदौ ९ गते एउटा पारिवारिक कार्यक्रममा भन्दै भारत भ्रमणमा गएका थिए ।