छाउगोठ भत्काए पनि कुरीति अझै चलिरहेको छ, जनचेतना फैलाउनुपर्‍यो: आरजु राणा

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १४ : ११
छाउगोठ भत्काए पनि कुरीति अझै चलिरहेको छ, जनचेतना फैलाउनुपर्‍यो: आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सात हजार पाँच सय ४५ वटा छाउ गोठ भत्काए पनि यो कुरीति अझै चलिरहेकोले जनचेतना फैलाउने अभियान सञ्चालन गर्न माग गरेकी छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले २०७५ सालदेखि २०७८ सालसम्म सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काइएको बताइन्। ‘करिब ८ वर्ष पहिले पनि मैले छाउ गोठमा सर्पले डसेर मरेको एक छोरीको बारेमा बोलेको थिएँ। असार ३ गते अछाममा छाउगोठमा एक छोरीलाई बलात्कार भयो। यस्ता घटना घट्ने क्रम देशमा चलिरहेको छ,’ उनले भनिन्, ‘सरकारले ३ वर्षमा सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काए पनि यो कुरीति चलिरहेको छ। यसविरूद्ध व्यापक जनचेतना अभियान चलाउन सरकारलाई अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस