कर्मचारीको आन्दोलनले संसद् बैठक प्रभावित

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १२ : ५६
कर्मचारीको आन्दोलनले संसद् बैठक प्रभावित

काठमाडौं। सेवा सुविधाको माग राख्दै संसद् सचिवालयका कर्मचारी आन्दोलित भएपछि आइतबारको बैठक प्रभावित भएको छ ।बजेटमाथि मन्त्रीहरूले जवाफ दिने र आजै विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने कार्यसूची भए पनि संसद् सचिवालयका कर्मचारीको कारण प्रतिनिधि सभाको बैठक करिब डेढ घण्टापछि शुरू भएको छ ।

 

११ बजेका लागि बोलाइएको बैठक सवा १२ बजेपछि शुरू भएको हो ।सेवा सुविधासहितका ११ बुँदे माग राखी संसद् सचिवालयका कर्मचारी केही दिनदेखि आन्दोलनमा छन्।

 

 

 

 

 

 

उनीहरूले निरन्तर आन्दोलन गरेपछि प्रधानमन्त्री, सभामुखसहितसँग आइतबार बिहान छलफल गरेका थिए । छलफलले कर्मचारीको माग सम्बोधनका लागि कानून मन्त्री पदम गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

समितिमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेका छन् ।कर्मचारीको उपयुक्त मागको विषयमा छलफल गरी समितिले सरकारलाई सुझाव दिनेछ । तर कर्मचारीले आफूहरूको मागको लिखित सम्बोधन हुनुपर्ने अडान लिएका छन्। ​

अतिरिक्त समयमा गरेको कामको भुक्तानी पाउनुपर्ने, संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली अद्यावधिक गर्नुपर्ने, सवारी चालकका सेवा सुविधासहितका माग उनीहरू राखेका छन् ।

प्रतिक्रिया दिनुहोस