साताको सेयर बजार : परिसूचक ४३ अंकले घट्यो, साढे १६ अर्ब बढीको कारोबार

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, १६ : २८
साताको सेयर बजार : परिसूचक ४३ अंकले घट्यो, साढे १६ अर्ब बढीको कारोबार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३.९७ अंकले घटेको छ । यो साताको आइतबारदेखि नै घट्न थालेको नेप्से परिसूचक बिहीबारसम्मको अवधिमा उच्च अंकले घटेर बन्द भएको हो । आइतबार २११२ अंकबाट सुरु भएको नेप्सेको कारोबार बिहीबार २०६८ अंकमा आएर रोकिएको हो ।

आइतबार नेप्से परिसूचक १७.०४ अंक र मङ्गलवार १८.७६ अंकले नेप्से परिसूचक घटेको थियो । सोमबार भने इद परेका कारण सार्वजनिक बिदा थियो । यस्तै बिहीबार १०.४४ अंकले नेप्से परिसूचक घट्यो । बुधवार भने परिसूचक २.२७ अंकले बढेको थियो ।

साताको ४ कारोबार दिनमध्ये तीन कारोबार दिन घटेपछि परिसूचक उच्च अंकले घटेको हो । यो साता १६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।सातामा २ प्रतिशतभन्दा बढीको गिरावट आउँदा कारोबार रकम पनि गत साताको तुलनामा घटेको छ ।