सुदूरपश्चिम माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी तोकियो

सफल खबर संवाददाता

बुधबार, ३० असोज २०८१, १२ : ४९
सुदूरपश्चिम माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी तोकियो

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोकिएको छ । प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मंगलबार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन् ।

इन्चार्ज पोखरेलले प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय गठन गरेको मातहतका समितिमा परिपत्र पठाएका छन् । जसमा प्रदेश इन्चार्ज पोखरेल, सह इन्चार्ज बिना मगर र स्थायी समिति सदस्य खगराज भट्ट रहेका छन् ।

यसैगरी सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा नेताहरूको जिम्मेवारी तोकिएको छ । सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत कैलाली १ मा तिलकबहादुर परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र ५ नम्बर क्षेत्रमा ओमप्रकाश पुनलाई जिम्मेवारी दिएको छ । यस्तै कञ्चनपुर १ मा दीपा चौधरी, २ मा निर्मला बडाल जोशी र ३ मा मानबहादुर सुनारलाई जिम्मेवारी दिएको छ ।

अछाम १ मा दीपकबहादुर साउद र २ मा रामप्रसाद तिमिल्सिना रहेका छन् । यसैगरी डोटी १ मा त्रिलोचन भट्ट, डडेलधुरा १ मा कुन्ती जोशी, बैतडी १ मा नरेन्द्रबहादुर कुँवर, दार्चुला १ मा लक्ष्मणदत्त जोशी, बझाङ १ मा मीनबहादुर कुँवर, बाजुरा १ मा कर्णबहादुर बिक रहेका छन् ।

सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा सङ्घीय निर्वाचन क्षेत्र र ३२ वटा प्रादेशिक निर्वाचन क्षेत्र रहेका छन् ।यसैगरी प्रदेशका सम्बन्धित विभागमा संयोजन गर्नेगरी ३२ वटा विभागमा जिम्मेवारी तोकिएको छ । जनवर्गीय सङ्गठन र जातीय मोर्चासँग सम्बन्धित नेताहरूको जिम्मेवारी तोकिएको छ ।

नेता गणेश बमको उपचारका लागि सबै केन्द्रीय सदस्य र केन्द्रीय निकायका नेताहरूले दुई हजार जम्मा गर्न पोखरेलले निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस