काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ ।
अन्तर-व्यवस्थापिका संघको महासभामा भाग लिन जेनेभा पुगेका अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकबीच भएको भेटमा उनीहरुबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यस अवसरमा नेपालको शान्ति प्रक्रियामा स्विस सरकारबाट भएको सहयोगको स्मरण गर्दै उनीहरुबीच विचार/विमर्श भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्विस सरकारले महत्त्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघ, आइपियूलगायत बहुपक्षीय मञ्चमा दुई देशका साझा धारणा, सहयोग र सहकार्यको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्यान्डसँग काम गर्न नेपाल सधैँ तयार रहेको बताए । प्रत्यक्ष लोकतन्त्र र संघीयताको अभ्यासमा स्विट्जरल्यान्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै उनले भने, “संघीय गणतन्त्रका रूपमा भर्खरै अभ्यास गरिरहेको नेपाल स्विट्जरल्यान्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ । हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौँ ।”
राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको उल्लेख गर्दै उनले संघीय संसद् र प्रदेश सभामा ३३ प्रतिशत तथा स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान कार्यान्वयनमा अप्ठ्यारा भेटिए विकल्प खोज्न सकिन्छ : राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा छैटौं इण्डो-नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप उद्घाटन
नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा पदभार ग्रहण