बुटवल उपमहानगरभित्रका प्रधानाध्यापकको अब ३/३ वर्षमा सरुवा

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, १४ : ५६
बुटवल उपमहानगरभित्रका प्रधानाध्यापकको अब ३/३ वर्षमा सरुवा

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकलाई हरेक ३/३ वर्षमा आन्तरिक सरुवा गर्ने नीति लिएको छ ।​​आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रममा सबै विद्यालयहरूलाई समान तहको स्तरमा पुर्‍याउन यस्तो नीति अघि सारिएको उपमहानगरले जनाएको छ ।​​

नगरप्रमुख खेलराज पाण्डेयले मावि तहका प्रअहरूको आन्तरिक सरुवा गर्ने नीति अघि सारिएको बताए । बुटवलमा २२ वटा मावि विद्यालय छन् ।अन्तरविद्यालय अनुभव आदान–प्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबीच नियमित छलफल सञ्चालन गर्ने नीति ल्याएको पाण्डेयले बताए ।

यस्तै, ‘छोरी पढाऔं समाज बनाऔं’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ । 

त्यस्तै बुटवलले विद्यालय खाजा कार्यक्रममा १० रुपैयाँ थप गरी २५ रुपैयाँ बनाउने नीति लिएको बुटवलले निजी विद्यालयहरूले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमा विवरण सार्वजनिक गर्न अनिवार्य गरेको छ ।​

विद्यार्थीहरूलाई पाठ्यसामग्रीमाथिको बोझ कम गर्न हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा सिर्जनशील कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, सीप तथा नैतिक शिक्षा, खेलकुद, विज्ञान प्रविधि, पर्यटनजस्ता विषयहरूप्रति आकर्षण बढाउने नीति बुटवलले लिएको छ ।

केही सामुदायिक विद्यालयले विद्यार्थी भर्नाको नाममा अनावश्यक प्रवेश परीक्षा लिँदै आएका छन् । त्यसो गर्दा विद्यार्थीले आफूले चाहेको विद्यालयमा पढ्न पाउने अधिकारको हनन भएको सरोकारवालाहरूले बताउँदै आएका छन् ।

यसअघिका मेयर शिवराज सुवेदीले समग्र बुटवल एक विद्यालय अवधारणा अघि सारेका थिए ।नगरभित्रका सबै सामुदायिक विद्यालयको समान शैक्षिक स्तर स्थापित गर्न ‘सिंगो बुटवल : एक विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याए पनि प्रभावकारी बन्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस