एक घण्टा ढिला शुरू भयो प्रतिनिधि सभा बैठक

सफल खबर संवाददाता

बुधबार, ०५ असार २०८१, १२ : १८
एक घण्टा ढिला शुरू भयो प्रतिनिधि सभा बैठक

काठमाडौं। प्रतिनिधि सभा बैठक एक घण्टा ढिला शुरू भएको छ ।युवा तथा खेलकुद मन्त्रालयमाथि विनियोजित बजेटमाथि छलफल गर्नेसहितका कार्यसूची रहेको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको हो ।

बुधबार खेलकुद मन्त्रालयमाथिको छलफलपछि आजै विभागीय मन्त्रीले जवाफ दिने कि नदिने भन्नेमा दलहरूबीच कुरा नमिलेको एक सांसदले जानकारी दिए ।

‘रास्वपाका सांसदले आजै खेलकुद मन्त्रालयमाथि छलफल गर्ने र आजै मन्त्रीले पनि जवाफ दिनुपर्छ भन्ने कुरा उठाउनुभएको छ । तर हामीले आजै छलफल गरी मन्त्रीले जवाफ दिन हुँदैन भनिरहेका छौं,’ कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘यो विषय र संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण बैठक बस्न ढिलाइ भएको हो ।’

खेलकुद मन्त्रालयको बजेटमाथि छलफलबाहेक बुधबार स्वास्थ्य, वन तथा वातावरण, शिक्षा, श्रम, शहरी, रक्षा, खानेपानी, महिला मन्त्रालयमा विनियोजित बजेटबाट सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची पनि रहेको छ ।

रास्वपाले असार ७ गते स्थापना दिवस मनाउने भन्दै त्यो दिन संसद् बैठक नराख्न आग्रह गरेको अर्का एक सांसदले जानकारी दिए ।

‘उहाँहरूले ७ गते हाम्रो स्थापना दिवसको दिन संसद बैठक नराखौं बरु आजै छलफल गरेर आजै खेलकुद मन्त्रालय छलफल सकौं भन्नुभएको छ । यसैले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुट्न ढिलाइ भएको हो’ ती सांसदले भने ।

प्रतिक्रिया दिनुहोस