काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल

सफल खबर संवाददाता

शुक्रबार, ३२ जेठ २०८१, १३ : ११
काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौंबासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गरेका छन् ।

मेलम्चीको पानीले काठमाडौंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौं उपत्यकाबासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उनको भनाई थियो ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘मेलम्चीको पानी अव काठमाडौंलाई पुग्दैन । याङ्ग्री र लार्केखोलाको पानी ल्याएर पनि पुग्ने छैन । यो ल्याउने कहिले हो ? २५ वर्ष लाग्यो मेलम्ची ल्याउन । निस्सासिएर काठमाडौंका मान्छे खानेपानीको अभावमा भकाभक मर्ने दिन आउँदैछ । हामीले सुनिराखेका छौं–अवदेखि मेलम्चीको पानी रोक्दैन भनेर सुनेको यही संसदमा हो । फेरि असारबाट पानी आउँदैन भन्ने आएको छ । खानेपानीको स्रोत व्यवस्थापन सरकारले गर्ने तर वितरण स्थानीय तहलाई दिनुपर्छ । र देशभरी सुख्खा बढिरहेको हुँदा पानी पुरणभरणको बन्दोबस्त गर्ने । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको खानेपानी देशभरी उपलब्ध गराउने, देशभर आर्सेनिक मुक्त खानेपानीको व्यवस्था गर्ने । र काठमाडौंको सुविधा उपत्यका बाहिर गरी सबै स्थानीय तहलाई सहरको रुपमा विकास गर्ने ।’

सांसद सुवालले देशभर आर्सेनिकमुक्त खानेपानीको व्यवस्था गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए ।

 

 

प्रतिक्रिया दिनुहोस