२० वटा वाणिज्य बैंकको चुक्ता पुँजी पौने ४ खर्ब

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १५ : ३५
२० वटा वाणिज्य बैंकको चुक्ता पुँजी पौने ४ खर्ब

काठमाडौँ । नेपालमा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब २ करोड रुपैयाँ छ । एउटा वाणिज्य बैंकको न्यूनतम चुक्तापुँजी ८ अर्ब हुनुपर्ने प्रावधान छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ३७ लाख छ । दोस्रो ठूलो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ । तेस्रो ठूलो बैंकको रूपमा नबिल बैंक देखिएको छ । यसको चुक्तापुँजी २७ अर्ब ५ करोड ७० लाख छ । चौथोमा कुमारी बैंक छ । यसको चुक्तापुँजी २६ अर्ब २२ करोड ५० लाख छ ।

पुँजीका हिसाबले बलिया देखिएका बैंकहरू सबै मर्जर तथा एक्विजिसनमा गएका हुन् । ग्लोबल आईएईले पछिल्लो पटक समान हैसियतको बैंक अफ काठमाण्डुलाई गाभेको थियो भने नेपाल इन्भेष्टमेन्ट र मेगा मर्ज भएका थिए । यता नेपाल बङ्गलादेश बैंकलाई गाभेर नबिल पनि पुँजीको हिसाबमा बलियो बैंक बनेको छ । कुमारी बैंकले पनि एनसीसी बैंकलाई गाभेको हो ।

पाँचौँ नम्बरमा परेको प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २० लाख रुपैयाँ छ । यो बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेको हो । छैटौँमा रहेको लक्ष्मी सनराइज पनि एक आपसमा गाभिएर बनेका बैंक हुन् । लक्ष्मी सनराइज बैंकको चुक्तापुँजी २३ अर्ब १८ करोड ७० लाख रुपैयाँ छ । यता सिभिललाई गाभेको हिमालयनको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६० लाख छ ।

सरकारी बैंकहरूमा नेपाल बैंकको चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड ७३ लाख र कृषि विकास बैंकको १८ अर्ब ८८ करोड ४३ लाख छ ।

मर्जरमा नगएका निजी बैंकहरूको चुक्ता पुँजी तुलनात्मक रूपमा कम छ । स्ट्याण्डर्ड चार्टड बैंकको ९ अर्ब ४२ करोड ९४ लाख, नेपाल एसबीआई बैंकको १० अर्ब ५० करोड, एभरेष्ट बैंकको ११ अर्ब ७६ करोड ७९ लाख, एनआइसी एशियाको १४ अर्ब ९१ करोड ७५ लाख, माछापुच्छ्रेको ११ अर्ब ६२ करोड १३ लाख, सिद्धार्थ बैंकको १४ अर्ब ८ करोड ९९ लाख, सिटिजन्स बैंक १४ अर्ब २० करोड, प्राइम बैंकको १९ अर्ब ४० करोड, एनएमबी बैंकको १८ अर्ब ३६ करोड र सानिमा १३ अर्ब ५८ करोड चुक्ता पुँजी छ ।

यसैगरी ठुला पुँजी भएको बैंकहरूको कार्यालय सञ्चालन खर्च पनि धेरै देखिएको छ । कार्यालय सञ्चालनमा कर्मचारी खर्च भने पर्दैन । वाणिज्य बैंकले चालु आर्थिक वर्षको १० महिनामा २९ अर्ब ४० करोड २० लाख रुपैयाँ कार्यालय सञ्चालनका लागि खर्च गरेका छन् ।