चीन र भारतबिच एकअर्काविरुद्ध कार्ड नखेल्न उपेन्द्र यादवको जोड

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, ११ : ३३
चीन र भारतबिच एकअर्काविरुद्ध कार्ड नखेल्न उपेन्द्र यादवको जोड

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले चीन र भारतबिच एकअर्काविरुद्ध कार्ड खेल्न नहुनेमा जोड दिएका छन् ।

जनकपुरमा सोमबारदेखि सुरु भएको महाधिवेशनमा आफ्नो राजनीति प्रस्तुत गर्दै उनले यस्तो कार्ड खेलिए नेपालका लागि प्रत्युत्पादक हुने पनि बताएका छन् । । उनले आफ्नो दस्ताबेजमा भनेका छन्, ‘दुई छिमेकी मुलुकबिच एकअर्काविरूद्ध कार्ड खेल्ने कच्चा कूटनीति अब उपरान्त प्रत्युत्पादक हुन्छ ।’

अमेरिका, युरोपियन युनियन, भारत र चीनलगायतका ठुला शक्तिहरूको चासो नेपालमा बढ्दै जानु स्वाभाविक रहेको उल्लेख गर्दै उनले भौगोलिक रूपले नेपाल तीन तिरबाट भारतद्वारा घेरिएका बताएका छन् ।

भारतसँग सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक एवम् अन्धविश्वास सम्बन्धहरूको जालोले बाँधिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘विश्वको पहिलो र दोस्रो आर्थिक शक्ति एकातिर अमेरिका र चीनबिच विश्वव्यापी प्रतिस्पर्धा र व्यापारिक तनाव र अर्कोतिर भारतको अन्तर्राष्ट्रिय शक्तिको रूपमा क्रमिक उदयले नेपालको भू– राजनीतिक अवस्थिति विशिष्ट बन्दै गएको छ ।’

एसियाको पुनर्उदय भनेको चीन र भारतको भिन्नाभिन्नै उदय मात्र नभई दुवै देशको भूमिका एकसाथ बढाउनु रहेको उल्लेख गर्दै उनले चीन र भारत बिचको प्रतिस्पर्धा र सहकार्यको सम्बन्धमा बाँधिन बाध्य हुने गरेको बताएका छन् ।

 भारत, चीन, युरोपियन युनियन र अमेरिकी शक्ति सम्बन्धबिच नेपालले दिगो शान्ति स्थायित्वको लागि गतिशील तटस्थता र सन्तुलित समनिकटताको नीति अवलम्बन गर्नुपर्ने बताउँदै उनले यो परिस्थितिलाई अवसरको रूपमा प्रयोग गर्न सक्नुपर्ने बताएका छन् ।

विश्व राजनीतिमा स्वतन्त्र, सार्वभौम अविच्छिन्न राष्ट्रको रूपमा नेपालले आफ्नो लामो ऐतिहासिक यात्रा पूरा गरेकोमा गर्व लगेको बताउँदै अध्यक्ष यादवले राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्दै आर्थिक विकास र समृद्धि हासिल गर्नु नै नेपालको विदेश नीतिको प्रमुख लक्ष्य हुनुपर्ने बताएका छन् ।