उपेन्द्र यादवको रिटमाथि आज पनि भएन सुनुवाइ

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १४ : ४६
उपेन्द्र यादवको रिटमाथि आज पनि भएन सुनुवाइ

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामा मङ्गलवार पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। यादवको रिट २३ औ नम्बरमा पेशी रहेको थियो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यस्तै आफ्नो दल छाडेर जाने सात सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् । यसअघि जेठ १४ गतेको पेशी पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो । 

यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । पहिलो सुनुवाइमा उक्त आदेश जारी भए पनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।  तर दलको रूपमा काम गर्न भने अदालतको आदेशले रोकिएको छ।