हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाऔँ : प्रमुख सचेतक शाही

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १४ : १५
हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाऔँ : प्रमुख सचेतक शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका छन् ।  सोमवार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका हुन् । 

उनले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कार्तिकदेखि नै हिउँका कारण काम गर्न नसक्ने अवस्था आउने गरेको बताए । उनले चैत मसान्तसम्म हिउँका कारण काम गर्न नसक्दा बाँकी रहेको दुई महिनामा मात्रै काम हुने गरेको र सबै पैसा फिर्ता हुने गरेको बताए । शाहीले हिमाली जिल्लाहरूको छुट्टै आर्थिक वर्ष बनाएमा मात्रै काम हुनसक्ने बताए ।

शाहीले भने– ‘सक्नुहुन्छ भने अर्थमन्त्रीज्यू , तपाईँलाई म अनुरोध गर्न चाहन्छु, हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाइदिनुस् । किनभने तपाईंहरुले अहिले असारबाट ल्याएको बजेट हिमाली जिल्लामा असोजबाट पैसा आउँछ कार्यान्वयनमा जान्छ । कार्तिकको १५ गतेदेखि हिमाली जिल्लामा काम गर्न सक्दैनौँ । किनभने हिउँ पर्छ । चैत मसान्तसम्म हिउँ पर्छ । वैशाख, जेठ साढे दुई महिना मात्रै काम गर्ने बित्तिकै आर्थिक वर्ष सकिन्छ । आएको पैसा सबै खर्च गर्न नसकेर फिर्ता भएको छ । अर्थमन्त्रीज्यूले यो हिम्मत गर्नुपर्यो । हिमाली जिल्लाहरूका लागि आर्थिक वर्ष अर्कै बनाउनुपरयो ।’

उनले सार्वजनिक पद धारण गरेकाहरूले अनिवार्य रूपमा नेपालमा उत्पादन गरेको कपडा लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्णाली राजमार्गको बजेट सरकारले अपचलन गरेमा आफू संसद् बैठकमा उभिने चेतावनी समेत दिए । 

प्रतिक्रिया दिनुहोस