बीबीसी । अमेरिकी राष्ट्रपतिले नोभेम्बरमा हुन लागेको अमेरिकी संसदीय चुनावमा चीनले हस्तक्षेप गरिरहेको आरोप लगाएपछि चीनले त्यसको कडा शब्दमा खण्डन गरेको छ ।
आफूले चीनसामु व्यापारमा चुनौती प्रस्तुत गरेकाले बेइजिंगले आफ्नो दल रिपब्लिकनलाई हराउन चाहेको ट्रम्पले बताएका थिए ।
निन्दा
राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक अध्यक्षता गरिरहेका ट्रम्पले चीनले आगामी नोभेम्बरमा अमेरिकामा हुन लागेका चुनावमा हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाएका थिए ।
चीनले आफू वा आफ्नो दलले जितोस् भन्ने नचाहेको उनले बताए । राष्ट्रपति ट्रम्पले ती आरोप पुष्टि गर्ने कुनै प्रमाण भने पेस गरेनन् । चीनका विदेशमन्त्री वाङ्ग यीले ती आरोपको निन्दा गरेका छन् ।
वाङ्गले कुनै पनि देशको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने बताए ।
विश्लेषण
बीबीसी कूटनीतिक सम्वाददाता जेम्स रबिन्स भन्छन् अमेरिकाले अब चीनलाई पनि रुस, इरान र उत्तर कोरिया सरह अमेरिकी प्रजातन्त्र र स्वतन्त्रताविरुद्ध खतराका रूपमा लिइरहेको ट्रम्पका भनाइले प्रस्ट पार्छ ।
ट्रम्प प्रशासनका अधिकारीहरू, चीन खासगरि साइबर क्षेत्रमा निकै प्रभावशाली भएको र तिनले विपक्षीलाई गलाउन सक्ने विश्वास गर्छन् ।
चीनले आफ्नो परम्परागत समर्थक समूह किसानहरूलाई ट्रम्पविरुद्ध भड्काउने प्रयास गरेको उनीहरूको आरोप छ ।
दुई शक्ति राष्ट्रबीच फैलँदो व्यापार युद्धका माझ चीनले भने यी सबै आरोपलाई आधारहीन भन्ने गरेको छ ।
अमेरिका र चीनबीचको व्यापारको फाइदाबारे बताउने प्रयास गर्नु जायज भएको चीनको भनाइ छ ।
तर ट्रम्प प्रशासनसम्बद्ध कसैले चीनमाथि चुनावमा हस्तक्षेपको आरोप लगाएको यो पहिलोपटक भने होइन ।
यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले रुस, उत्तर कोरिया, इरान र चीन सबैले अमेरिकी चुनावमा हस्तक्षेपको योजना बनाइरहेको हुन सक्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ असोज २०७५, ०९ : ४७
लेखकबाट थप