जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन् । मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ । तातोपानी गाउँपालिकाका स्थानीयवासी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ । केही समय यता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका छन् ।
जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताए ।
जिल्लाका प्रसिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए । पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो तर हाल त्यो प्रचलन हराउँदै गएको छ । चन्दननाथमा चढाउन पनि मार्सी धान रोप्ने गरिन्छ ।
जिल्लाको एक हजार दुई सय हेक्टरमा मार्सी धान खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
सरकारले मङ्गलबार सङ्घीय सभामा प्रस्तुत गरेको बजेटमा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सी धान करिडोर विकासका लागि नयाँ परियोजना समेटेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ जेठ २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेडपाण्डा संरक्षण अभियानमा जुटे जुम्लाका स्थानीय
जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च
जुम्लामा एउटै वडाबाट ३ करोडको सिमी उत्पादन
जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो
जुम्ला जिल्ला पूर्ण खोप सुनिश्चिता घोषणा
जुम्लामा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली