एजेन्सी । रफाहको पश्चिममा मङ्गलबार विस्थापितहरूको शिविरमा भएको इजराइली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । यस्तै प्रकारको आक्रमणले विश्वव्यापी आक्रोश फैलाएको दुई दिनपछि उक्त आक्रमण भएको हो ।
एजेन्सीका वरिष्ठ अधिकारी मोहम्मद अल–मुगय्यिरले भने, “रफाहको पश्चिममा विस्थापित नागरिकको पाललाई लक्षित गरी गरिएको आक्रमणमा २१ जनाको मृत्यु भएको छ ।”
हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सोही सङ्ख्या दिँदै ६४ जना घाइते भएको र तीमध्ये १० जना गम्भीररूपमा घाइते भएको बताएको छ । प्यालेस्टिनी समूह हमासले पनि इजराइली आक्रमणमा यस क्षेत्रमा ‘दर्जनौँ मानिस सहिद भएको’ बताएको छ ।
इजराइली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले पत्रकारहरूसँग भने “मलाई यस घटनाका बारेमा थाहा छैन, हामी घटनाको अनुसन्धान गरिरहेका छौँ र हामी तपाईंलाई अग्रीम सूचना दिनेछौँ ।”
गाजा अधिकारीहरूका अनुसार आइतबार इजराइली आक्रमणमा दक्षिणी गाजा पट्टी सहरमा भीडभाडयुक्त शिविरमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएपछि विश्वव्यापी आक्रोश बढेको थियो ।
इजराइलले मे ७ मा रफाहमा आफ्नो विवादास्पद आक्रमण सुरु गर्यो र त्यहाँ शरण लिएका १४ लाख प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि विश्वव्यापी चिन्ताहरूलाई खारेज गर्यो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ जेठ २०८१, ०७ : ०३
लेखकबाट थप