सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका शनिबारदेखि खुल्ने

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, १६ : २०
सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका शनिबारदेखि खुल्ने

विराटनगर। सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका भोलि (शनिबार)देखि खुल्ने भएका छन् ।कोरोनाकालमा चीन सरकारले बन्द गरेका १३ जिल्लाका ती नाकाहरू खुल्न लागेका हुन् । चीनसँग नाका जोडिएका उक्त नाकाहरू २०७६ सालदेखि बन्द भएका थिए ।

 

उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका भोलि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा खोलिने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।किमाथांका नाका बन्द हुँदा सबैभन्दा ठूलो असर भोट खोलामा परेको स्थानीयहरू बताउँछन् ।

 

 

यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए ।नाका बन्द हुँदा विभिन्न सामग्रीसमेत अभाव हुने गरेको प्रजिअ खड्काले बताए । ‘नाकासम्म पुग्नका लागि २ किलोमिटर ट्रयाक अझै खुलेको छैन’, उनले भने ‘अर्को वर्ष यति बेलासम्म चाहिँ ट्याक्टरसम्म कुद्न सक्छ होला ।’​​

किमाथांकालाई परम्परागत नाका भन्ने गरिएको छ । यो नाका खुल्दा भोटखोलाबासीलाई सहज हुने अनुमान गरिएको छ ।सदरमुकामबाट सामग्री लिएर जाँदा गाडीबाट ओर्लेर दुई दिन पैदल हिँडेपछि मात्रै यो नाका पुग्न सकिन्छ ।

उत्तरी क्षेत्रमा वि.स.२०३५ सालमा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोट खोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी सारिएको थियो । चीन सरकारले मुहानमा कोरोना संक्रमण देखिएपछि बन्द गरेको थियो ।

नेपाली नाकाभन्दा करिब १५ मिनेट दूरी पर पुगेर उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपस्थितिमा उक्त नाका खोलिने जनाइएको छ । ​किमाथांका बन्द भएपछि भोट खोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महंगोमा खाद्यान्न ढुवानी गर्दै आएका थिए ।  

भोट खोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथांकाका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन ।किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।​

विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथांकासम्म पुग्ने बाटोलाई चीन-भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । शनिबार नै एकै साथ १३ जिल्लाको १४ वटै नाका एकै साथ खोलिने जनाइएको छ ।गोर्खामा दुई वटा नाका पर्छ भने अन्य जिल्लामा १/१ वटा नाका छन् ।सङ्खुवासभाको किमाथांका, दोलखाको अर्को फालकलगायतका नाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस