रारा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १६ : ०९
रारा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

सुर्खेत । रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना भएको छ । बिहीबार बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलपट भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परी १२ जना शिक्षक र विद्यार्थीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना तथा अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार ग१ज ८२४९ नम्बरको जिपले बाजुराको हिमाली गाउँपालिका–५, कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थी बोकेको थियो ।

दिउँसो १२ बजेतिर भएको उक्त दुर्घटनामा ९ जना विद्यार्थी, २ शिक्षक र एक जना चालक घाइते भएका छन् ।  विद्यार्थी र शिक्षक सबै सामान्य घाइते भएको र चालक गम्भीर घाइते भएको सूचना अधिकारी कार्कीले बताए ।चालकको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस