आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, ०८ : ०८
आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ । 

चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले सदनमा विधेयक टेबल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन पनि गर्नेछन् ।  

यसअघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । यो विधेयकमा ९ वटा खण्ड रहेका छन् । 

लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रुपमा जारी भइसकेको छ । स्थानीय सेवा र निजामती कर्मचारी विधेयक सँगसँगै अघि बढ्नुपर्ने भएपनि निजामती कर्मचारी विधेयक पारित भएपछि मात्रै स्थानीय सेवाको विधेयक अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस