फिलिपिन्समा पहिरोमा परी ९५ जनाको मृत्यु

एजेन्सी

सोमबार, ०८ असोज २०७५, १४ : ३७
फिलिपिन्समा  पहिरोमा परी ९५ जनाको मृत्यु

फाइल फोटो

मनिला । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 
उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अधिकारीहरुले बताएका छन् । 

फिलिपिन्सको लुजोन द्वीपबाट गत सेप्टेम्बर १५ मा शुरु भएको म्याङ्कुट नामक भीषण आँधीपछि यहाँ पहिरोले सताएको छ । यस पहिरोमा अझै पनि ५९ जना बेपत्ता रहेका छन् । 

नगा शहरमा मात्र ४० जना बेपत्ता रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । त्यसैगरी करिब ३० ओटा घर डुबानमा परेका छन् । 

फिलिपिन्समा म्याङ्गकुट आँधी र गत हप्ता आएको भीषण पहिरोमा परी करिब २ सय व्यक्तिको मृत्यु भएको छ । 
यस वर्षको नै भीषण आँधीको रुपमा आएको म्याङ्कुटबाट करिब १६ लाख कृषक र माझीहरु प्रभावित भएका छन् । 

फिलिपिन्समा यस वर्ष आएको यो १५आँै आँधी हो । म्याङ्कुट भने सबैभन्दा शक्तिशाली आँधीका रुपमा रहेको छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ । फिलिपिन्सका हरेक वर्ष करिब २० पटक आँधी आउने गरेको छ । 

मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण छ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी स्न् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस