कृषि आधुनिकीकरण परियोजना : आठ हजारभन्दा बढी किसान आबद्ध

रासस

आइतबार, ३० बैशाख २०८१, १३ : ०४
कृषि आधुनिकीकरण परियोजना : आठ हजारभन्दा बढी किसान आबद्ध

अत्तरिया (कैलाली) । कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आवमा आठ हजारभन्दा बढी किसान आबद्ध भएका छन् । जिल्लामा परियोजनाद्वारा सञ्चालित ‘गहुँ सुपरजोन’,‘तेलहन जोन’ र ‘धान जोन’ कार्यक्रममा आठ हजार नौ सय ३५ जना किसान आबद्ध भएका हुन् । चालु आव २०८०/८१ मा तीन वटै जोनमा चार हजार नौ सय १७ महिला र चार हजार १८ पुरुष आबद्ध भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ कैलालीका सूचना अधिकारी रीतु धामीले जानकारी दिइन् ।

उनका अनुसार चालु आवमा सहकारी, कृषि समूह, कृषि उद्यमी, बीउ उत्पादन कम्पनी र समिति गरी तीन सय ३५ संस्था सूचीकृत भएका छन् । गहुँ सुपरजोन एक हजार पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर हाल तीन हजार हेक्टर, तेलहन जोन पाँच सय हेक्टरबाट एक हजार पाँच सय हेक्टर र धान जोन पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर आठ सय हेक्टर पुगेको उनले जानकारी दिइन् ।

कार्यक्रम सञ्चालन भएपछि गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल चार दशमलव चार, तोरीको उत्पादकत्व शून्य दशमलव नौ मेट्रिक टनप्रति हेक्टरबाट वृद्धि भएर एक दशमलव पाँच र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भएर पाँच दशमलव २७ मेट्रिक टन प्रतिहेक्टर पुगेको उनले जानकारी दिइन् ।

‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा रहेको सूचना अधिकारी धामीले जानकारी दिए। उनका अनुसार चालु आवमा साना सिँचाइ अन्तरगत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय ५६ वटा स्यालो ट्युबवेल वितरण गरिएकोमा एक सय ४८ वटा जडानका लागि सम्झौता भएर काम भइरहेको छ ।

त्यस्तै परियोजनाले चैते धानको क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत गत वर्ष ५० हेक्टरमा गरिएको चैते धान यस वर्ष एक सय २७ हेक्टरमा विस्तार गरेको सूचना अधिकारी धामीले जानकारी दिए। लागत घटाएर कृषि आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ । साथै परियोजनाले प्राविधिक सहयोगसमेत गर्ने गरेको जनाइएको छ । जिल्लामा गहुँ सुपरजोन आव २०७३/७४, तेलहन जोन आव २०७४/७५ र धान जोन आव २०७८÷७९ मा सुरु भएको जनाइएको छ ।