गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवाद : कांग्रेसद्वारा सर्वोच्चमा रिट दर्ता

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १३ : १९
गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवाद : कांग्रेसद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतसम्बन्धी विवादमा कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

अधिकारीले सोमबार विश्वासको मत प्राप्त गरेको समामुख कृष्णप्रसाद धितालले घोषणा गरेपनि कांग्रेसले असंवैधानिक कार्य भएको भन्दै विरोध गर्दै आएको छ । ६० सदस्यीय प्रदेशसभाबाट अधिकारीले ३० मतमात्रै प्राप्त गरेपनि आफू निर्णायक रहेको भन्दै सभामुखले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुने अवस्थामा मुख्यमन्त्री अधिकारीले सभामुख धितालको मत समेत जोडेर विश्वासको मत पाएको घोषणा गरिनु असंवैधानिक भएको दाबी नेपाली कांग्रेसको छ ।

रिटमा कोशीको नजिर, संविधानले तोकेको सभामुखको भूमिका र अघिल्लो रिटमा समेत गरिएको व्याख्यालाई आधार बनाउँदै मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत गैरकानुनी भएकाले बदर हुनुपर्ने जिकिर गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री अधिकारीलाई कुनै पनि कामकाज नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरेर कामकाजमा रोक लगाउन रिटमा माग गरिएको छ । यसै गरी मुख्यमन्त्री अधिकारीको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसारको सरकार गठनका लागि परमादेश जारी हुनुपर्ने माग गरिएको छ । खगराज अधिकारी संविधानको धारा १६८ को उपधारा २ अनुसार विश्वासको मत पाउन असफल भएका कारण अब स्वतः उपधारा ३ को प्रक्रियामा जानुपर्ने उनको रिटमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस