भारतको सहयोगमा चितवनमा बनेको विकास परियोजनाको उद्‌घाटन

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, १६ : १६
भारतको सहयोगमा चितवनमा बनेको विकास परियोजनाको उद्‌घाटन

काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा चितवनको खैरहनीमा निर्माण गरिएको परियोजनाको उद्‌घाटन गरिएको छ ।‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत बनेको उक्त परियोजनाको शुक्रवार खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्‌घाटन गरेका हुन् ।

भारत सरकारको ३.६७४ करोड रुपयाँ सहयोगमा बनेको उक्त परियोजना उद्‌घाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवी लगायतको उपस्थिति थियो ।

‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरूका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलाई नियमन गर्न एवं नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो ।

 

 

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको भारतीय दूतावासले जनाएको छ ।​

कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वन फँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद्‌विरुद्ध जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस