आज मध्यरातिबाट मौन अवधि सुरु, यी कार्य गर्न निषेध

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, १२ : ००
आज मध्यरातिबाट मौन अवधि सुरु, यी कार्य गर्न निषेध

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज मध्यरातदेखि मौन अविधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही १५ वैशाखमा हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुन लागेको हो ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले समेत चुनाव प्रचार–प्रसार गर्न पाउने छैनन् ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । सामाजिक सञ्जालबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दललाई आयोगले अनुरोध गरेको छ ।

आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
 

मौन अवधिमा के के गर्न पाइँदैन?

-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।

-मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

-एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

-अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।