गाजाको अस्पताल परिसरमा ३०० मानिसको सामूहिक चिहान

एजेन्सी

बुधबार, १२ बैशाख २०८१, ०९ : ५३
गाजाको अस्पताल परिसरमा ३०० मानिसको सामूहिक चिहान

एजेन्सी । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् प्रमुख वोल्कर तुर्कले इजरायली हमलापछि गाजाको नासेर र अल शिफा अस्पतालमा पाइएको सामूहिक चिहानको प्रसंगले भयभित बनाएको जनाएका छन् ।

प्रमुख वोल्कर तुर्कले यसबारेमा स्वतन्त्र छानबिन गराउन माग गरेका छन् । प्यालेस्टाइन अधिकारीहरूले नासेर अस्पताल परिसरमा रहेको सामूहिक चिहानबाट ३०० मानिसको शव निकालिएको जनाएका थिए ।

यति धेरै मानिस कसरी मारिए र गाडिए भन्ने प्रष्ट भएको छैन । इजरायली सेनाले भने त्यहाँ शव गाडिएको भन्ने विषयलाई आधारहीन भनेको छ  ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि अस्पतालमा आक्रमणकारी लुकेको भन्दै इजरायली सेनाले त्यहाँ धरपकड गरेको थियो । इजरायली सेनाले गाजाका अस्पतालबाट हमासले काम गरेकोले त्यतिबेला आफूले छापा मारेको जनाएको छ । 

प्यालेस्टाइन अधिकारीहरूले भेटेका चिहान गहिरो खाडल खनेर पुरेको र त्यसलाई माथिबाट फोहोरले छोपेको पाइएको जनाइएको छ । शव धेरैजसो वृद्ध, महिला र घाइतेहरूको भएको जनाइएको छ ।

अस्पताल जस्तोसुकै अवस्थामा पनि अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षणमा रहने भए पनि गाजामा सामूहिक चिहान भेटिनुले सबैलाई आश्चर्यचकित पारेको छ ।