जेलमुक्त त भए नवाज शरीफ, के अब राजनीतिमा फर्केलान् ?

एजेन्सी

विहीबार, ०४ असोज २०७५, १६ : ०३
जेलमुक्त त भए नवाज शरीफ, के अब राजनीतिमा फर्केलान् ?

एजेन्सी  । आयभन्दा बढी सम्पत्तिको मुद्दामा कारावास सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनका छोरी तथा ज्वाईंलाई इस्लामाबाद उच्च अदालतले राहत दिएको छ । 

उनलाई धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएपछि उनी जेलमुक्त त भए तर राजनीतिमा फर्किने उनमा कुनै संकेत देखिँदैन । शरीफको सजाय निलम्बन मात्र भएको हो, उनी पूर्ण रूपमा सजायमुक्त हुनका लागि थुप्रै कानूनी लडाईं बाँकी छन् । 

अदालतले उनलाई एभनफील्डमा स्वामित्व अधिकारका विषयमा कुनै प्रमाण पेश गर्न नसकेपछि धरौटीमा रिहा गराएको हो ।

भ्रष्टाचार मुद्दामा शरीफलाई १० वर्षको कारावास सजाय सुनाइएको थियो । जुलाईमा छोरी मरियम र ज्वाईं सफ्दरसँग लन्डनबाट पाकिस्तान फर्केका नवाजलाई चुनाव लड्न अयोग्य घोषणा गरिएको थियो । अहिले नै पनि उनीमाथि १० वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । 

धरौटीमा रिहा भएपछि शरीफले चुनावी प्रतिबन्धलाई पनि चुनौती दिने र आफ्नो राजनीतिक पारी शुरू गर्ने कोशिश गर्ने मानिएको छ । कानूनी दाउपेच अनि पार्टी र संगठनका विषयमा उनीसामु अनेकौं चुनौती छन् । 

शरीफ तीनचोटि पाकिस्तानको प्रधानमन्त्री बनिसकेका छन् । सन् १९९० देखि १९९३ मा पहिलोपटक, सन् १९९७ देखि १९९९ सम्म दोस्रोपटक र सन् २०१३ देखि २०१७ सम्म तेस्रोपटक उनी प्रधानमन्त्री बनेका हुन् । 

आम्दानीभन्दा बढी सम्पत्ति राखेको र आफ्नो घरजग्गाका बारेमा झूट बोलेको भन्दै उनलाई सर्वोच्च अदालतले प्रधानमन्त्री पदका लागि अयोग्य घोषणा गरेको थियो ।

अहिले नवाज शरीफ र उनको परिवार कारागारमुक्त भएपछि राहत अनुभव गरिरहेको छ । तर उनी राजनीतिमा फर्किने सम्भावना चाहिँ क्षीण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस