गलेश्वर । देशका विभिन्न ठाउँबाट नयाँ वर्ष २०८१ मनाउन आएका आन्तरिक पर्यटकका कारण शुक्रबारदेखि नै म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा घुइँचो लागेको छ । नयाँ वर्ष २०८१ को पहिलो दिन आज सूर्योदयको दृश्यावलोकन गर्नका लागि म्याग्दीको पुनहिल जान आएका पर्यटकका कारण घोडेपानीका होटल खचाखच भरिएका छन् ।
पुनहिलबाट २०८१ सालको पहिलो सूर्योदय हेर्न देशका विभिन्न ठाउँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी आएका छन् । यहाँ आउने आन्तरिक पर्यटकमधये अधिकांश युवा छन् । म्याग्दी र मुस्ताङका धार्मिकस्थलमा पनि देवीदेवताको दर्शन र पूजन गरी नयाँ वर्ष मनाउन सयौँ व्यक्तिको जमघट भएको छ । कालीगण्डकीमा सङ्क्रान्ति स्नान गरी बेनीको बेनी शिवालय, गलेश्वरधाम, महारानी थानलगायत मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीकोे घुइँचो लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायत क्षेत्रमा आएका छन् । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् । सार्वजनिक तथा निजी यातायातका साधनमार्फत उनीहरु यहाँ आएका हुन् ।
पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न तीन दिनयता दैनिक सयौँ पर्यटक घोडेपानी आएका घोडेपानीका होटल व्यवसायी मीना पुनले बताए । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वार भएकाले मुस्ताङ जाने पर्यटकको घुइँचो बेनीमा देख्न सकिन्छ । होटल व्यवसायी पुनका अनुसार नयाँ वर्ष २०८१ को पहिलो दिनको सूर्योदय हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा घुइँचो लागेको छ ।
मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताए । चितवनको जगतपुर र पार्वतीपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आउनुभएका हिमाल रिजाल, आरती सापकोटा, विमल पौडेललगायतको समूहका युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमण गर्ने योजनासहित आएको बताए ।
केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साबिकको भन्दा उल्लेख्य रुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । चैत अन्तिम सातादेखि नै म्याग्दीमा साबिकको भन्दा पर्यटक बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको बेनीका होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिए । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो । तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो ।
कालीगण्डकीमा स्नान गर्नेको भीड
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । म्याग्दी र पर्वतका विभिन्न गाउँबाट बिहान सबेरै गङ्गा स्नान गर्न कालीगण्डकी आएका छन् । आज वर्षको पहिलो दिन भएकाले गङ्गा स्नानपछि मन्दिरमा पूजा गरेर घर गई मीठामीठा खानेकुरा पकाएर खाने र परिवारसँग बसेर रमाउने गरिन्छ ।
विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी बताउँछन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ ।
हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्र ९तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर० बाट उत्पत्ति भई मुस्ताङ प्रवेश गर्ने यो नदी नारायणीको एक प्रमुख शाखा हो । कालीगण्डकी उद्गम विन्दुबाट देवघाटसम्म करिब ६३० दशमलव ४० किलोमिटरको लामो दूरी पार गर्दै नारायणीमा मिसिन पुग्छ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ ।
कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको हो । प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँ पटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकै पटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा स्कन्दपुराणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ बैशाख २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक मन्दीको असर : म्याग्दीमा बढ्यो उद्योग व्यवसाय बन्द हुने दर
म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, झरीले पहिरो पन्छाउन समस्या
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती
म्याग्दीमा उन्मूलन भयो औलो