इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राज्यकोषमा वृद्धि गर्न प्रधानमन्त्री कार्यालयमा रहेका थुप्रै लक्जरी कार र हेलिकप्टर लिलाम गर्ने घोषणा गरेसँगै पाकिस्तान सरकारले प्रक्रिया आगाडी बढाएको छ ।
बिबिसीले जनाए अनुसार सरकारले प्रधानमन्त्री कार्यालयमा रहेका ८ वटा भैंसी बेचिने पनि चर्चा छ । तर भैंसी बेच्ने निर्णय भने पाकिस्तानी सरकारले राज्यकोषमा वृद्धि गर्न नभएर विश्वविद्यालयमा परिणत गर्न लागिएको प्रधानमन्त्री आवासलाई खाली गर्न गरिएको बुझिएको छ ।
पाकिस्तान सरकारले एक चरणको लिलाम बढाबढको प्रक्रिया सम्पन्न गरिसकेको छ । प्रधानमन्त्री आवासको आँगनमा आयोजित लग्जरी कारहरूको लिलामीमा खरिदकर्ताहरूको राम्रै आकर्षण देखिन्थ्यो । तर पाकिस्तान सरकारले भने जस्तो रकम भने प्राप्त गर्न सकेको छैन ।
सरकारले उक्त पहिलो चरणको लिलाम प्रक्रियाबाट १ करोड ६० लाख डलर आउने आशा गरेको थियो तर उसले जम्मा ६ लाख मात्र जम्मा गर्न भ्यायो । उक्त प्रक्रियामा राखिएका सय कारहरूमध्ये ६२ वटा मात्रै बेचिएका थिए । सरकारको अपेक्षा विपरित ती कारहरू पनि खरिदकर्ताहरूले न्युनतम मूल्यमा सकारेको बताइन्छ ।
सरकारले सेप्टेम्बरको अन्त्यसम्म मन्त्रीमंडलले प्रयोग गर्न भनेर राखेका तीन वटा हेलिकप्टर पनि निलाम गर्ने भएको छ ।
प्स्स्किद्त्स्सं सरकारले ऋण संकटबाट मुक्त हुन अझै धेरै समानहरू लिलाम गरिने जनाएको छ ।
कार तथा अन्य सामानहरूको लिलामीलाई सामान्य रूपमा लिइए पनि भैंसी लिलाम गर्ने समाचारले भने धेरैलाई अचम्ममा पारेको छ । केही दिन अगाडि नै प्रधानमन्त्री इमरान खानका सहयोगी नइमुल हकले एउटा ट्विट गर्दै यसको जानकारी दिएका थिए ।
यस समाचारको थप पुष्टि भने भएको छैन । ती भैंसीहरू पूर्व प्रधानमन्त्री नवाज सरीफको समयमा प्रधानमन्त्रीको भान्सामा आवश्यक पर्ने दुग्धजन्य पदार्थको जोहो गर्न भनेर पालिएका थिए ।
यसै वर्ष जुलाईमा पाकिस्तानको सत्ता सम्हालेका इमरान खानले किफायती रूपमा सरकार संचालनको कुरा गर्दै आइरहेका छन् । तर कतिपय आलोचकहरूले भने यस्ता लिलामीहरू सबै प्रधानमन्त्रीहरूको समयमा हुने गररेका तर इमरान सरकारले यसको प्रचारबाजी गरिरहेको बताएका छन् ।
किफायती प्रशासन संचालनको कुरा गरिराखेका इमरान गत महिना ट्राफिक जामबाट बच्न भन्दै हेलिकप्टरबाट कार्यालय जाँदा आलोचकहरूको निसानामा आएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ असोज २०७५, १८ : ३२
लेखकबाट थप