प्योङयाङ । प्योङयाङको भ्रमणमा रहेका दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले उत्तर कोरिया स्वतन्त्र निरीक्षकहरूको सुपरिवेक्षणमा स्थायी रुपमा क्षेप्यास्त्र परिक्षण केन्द्र नष्ट गर्न सहमत भएको बताएका छन् ।
प्योङयाङमा भेटेपछि दुई नेता परमाणु अस्त्र निश्शस्त्रीकरणको मार्गमा लाग्न सहमत भएको मूनले बताएका हुन् । राष्ट्रपति मूनले भने, ‘उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो देशमा रहेका क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्ने केन्द्र बन्द गर्न सहमत भएका छन् ।’ कोरियाली प्रायद्वीपमा शान्तिका लागि यो सहमतिलाई किमले ‘एउटा ठूलो छलाङ’ भनी व्याख्या गरेका छन् ।
किमलाई मूनको निम्तो
उच्च स्तरीय भेटमा मूनले सोलमा आउन निम्तो दिए लगत्तै नेता किमले आफूले छिट्टै दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्ने आशा व्यक्त गरेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
दुई देश विभाजन भएयता उत्तर कोरियाली नेताले दक्षिण कोरियाको भ्रमण गरेका छैनन् । यो भ्रमण सफल भए दक्षिण कोरियाको भ्रमण गर्ने उनी पहिलो उत्तर कोरियाली नेता हुने छन्। उक्त भ्रमण यो वर्षको अन्त्यसम्ममा हुने जनाइएको छ ।
दुई कोरियाले आफ्ना रेलमार्गहरू जोड्ने, कोरियाली युद्धमा छुटिएका परिवारलाई पुनर्मिलन गर्न दिने र स्वास्थ्यको हेरचाहमा पनि सहयोग गर्ने योजना बनाएका छन् । भेटमा उनीहरूले सन् २०३२ को समर ओलिम्पिक्स दुई देश मिलेर आयोजना गर्ने विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ असोज २०७५, १७ : ०४
लेखकबाट थप