काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन् ।नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद्को भेलालाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन् ।
एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषद्मा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको उनको भनाइ थियो ।
'विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानबिनका लागि आवाज उठाइरहेका छौं। तर सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्रीभन्दा बलिया आपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दबाब र प्रभावमा पारिरहेका छन्', महरले भने।
त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए। सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याबिनेट नै अपराधीको संगठनजस्तो रहेको महरले आरोप लगाए ।
अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ।‘आज चैत २४ गते २०४६ सालमा जनआन्दोलन शुरू भएको दिए। सोही आन्दोलनको जगमा प्रजातन्त्र स्थापना भएको थियो। आज नै उपनिर्वाचनका उम्मेदवारहरूको उम्मेदवारी दर्ताको दिन परेको छ’, उनले भने, ‘आजकै दिनबाट सबै जनताले प्रण गरेर जनता र देशका प्रति गद्दारी गर्नेहरूलाई कहिले साथ दिने छैनौं भनेर प्रण गर्नु आवश्यक छ ।’
भ्रमको ललिपप देखाएर बदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनु पर्ने महर बताउँछन् । अरूलाई गाली गरेर मात्र सधैं भ्रमको राजनीति गर्न नसकिने उनले बताए ।
‘पार्टी जन्मिने बित्तिकै रास्वपालगायत नयाँ दलमा आबद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन् । अब जनताले प्रष्टरूपमा बुझिसक्नु भएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ', महरले भने । नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कर्मचारी, श्रमिकलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिले उक्त भूमिकालाई भुल्न नहुने बताएका छन् ।
‘अप्ठ्यारोमा पर्दा कांग्रेसले नेतृत्व गर्ने, सधैं निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने, विदेशसँगको कूटनीतिक सम्बन्ध कांग्रेसले नै सुधारि दिनुपर्ने, जनमतको अपमान गर्दै संसद् विघटन गर्दा कांग्रेसले नै जोगाउनु पर्ने। यसरी मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले काँध हाल्दै आएको छ’, उनले भने, ‘त्यसैले सस्तो लोकप्रियता खोज्ने र मुलुकलाई भड्खालोमा हाल्नेहरूलाई किन कुर्सीमा पुगाएर स्वार्थ केन्द्रित गतिविधिमा सहभागी गराउने। त्यसैले अब हामी सबैले सोच्ने बेला आएको छ ।’
उनले उप निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराएर स्वार्थ केन्द्रित राजनीतिक दलहरूलाई गतिलो झापड दिन जनतासँग आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ : नैनसिंह महर
नेपाल–भारतको ‘दुई देश एक संस्कृति’ लाई थप बलियो बनाउनुपर्छ : नैनसिंह महर
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न नैनसिंह महरको माग
पार्टी पदाधिकारीका कारण भ्रातृ संस्थाभित्र अन्यौलता देखियो : नैनसिंह महर