नयाँदिल्ली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबिचको सम्बन्धलाई थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने बताएका छन्। नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महरले देश दुई संस्कृति एक रहेकाले युग सुहाउँदो सम्बन्ध आवश्यक रहेको औँल्याएका हुन्।
नेपाल–भारत देश दुई भए पनि हामीबिच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटी बेटीको सम्बन्ध छ। अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ। नयाँ पुस्ताको चाहनाअनुसार अगाडि बढाउनुपर्छ,’ उनले भने।
कहिले कुनै कुरामा मनमुटाव देखिए पनि नेपाल–भारतबिच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरको टिप्पणी छ। इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए।‘हामीबिचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ। जुन नेपाल–भारतबिच वर्षौंदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ,’ उनले भने।
पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भएपनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए । युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबिचको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।
नेपालको समृद्धि विना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो गरी बुझ्नुपर्ने महरले बताए । ‘समृद्धिका लागि छिमेकी मुलुक पनि बलियो हुनुपर्छ। भारतसँग हाम्रो धेरै कुरा मिल्छ। खुला सीमा छ। दुवै देशका नागरिकबिच भाइचाराको सम्बन्ध छ। त्यसैले भारत सरकारले आफ्नै देशसँगै नेपालको समृद्धिमा पनि टेवा पुर्यउनुपर्छ । यसो भएमा दुई देशबिचको भावनात्मक सम्बन्ध थप बलियो हुनेछ,’ उनले भने।
बिपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको महरले स्मरण गरे। अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति रहेका भन्दै नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको महरको भनाइ छ।
जनसम्पर्क समितिबाट पार्टीमा र संसद्मा प्रतिनिधित्व गराउने कुरामा कांग्रेसभित्र छलफल भइरहेको महरको भनाइ थियो। उनले प्रवासमा रहेका नेपालीसँग सँगै रहेर कांग्रेस अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक केएम रावल, युवा नेता सन्दीप रानालगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ : नैनसिंह महर
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न नैनसिंह महरको माग
एमाले-रास्वपाकै नेता सहकारी ठगीमा संलग्न रहेकाले छानबिन समिति गठन गर्न दिएनन् : नेता महर
पार्टी पदाधिकारीका कारण भ्रातृ संस्थाभित्र अन्यौलता देखियो : नैनसिंह महर