संविधान दिवसको अवसर पारेर चितवनमा विविध कार्यक्रमहरु

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०७५, १८ : ४४
संविधान दिवसको अवसर पारेर चितवनमा विविध कार्यक्रमहरु

चितवन । संविधान दिवसको अवसर पारेर चितवनमा विविध कार्यक्रमहरु गरिएका छन् । सरसफाई, रक्तदान जस्ता कार्यक्रमहरु गरिएका हुन् ।
नारायणगढमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक एवम् लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष अनुषा चुकेले जानकारी दिइन् । संविधान दिवसको पूर्वसन्ध्यामा मंगलबार आयोजित सो रक्तदान कार्यक्रममा आठ जना महिला तथा ७२ जना पुरुष रक्तदाताले रक्तदान गरेका चुकेले बताइन् ।

संविधान दिवसको अवसर पारेर नारायणगढमा रहेका नारायणी मोटर्स, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रोट्रयाक्ट क्लब अफ भरतपुर, ग्रेस इन्टरनेशनलगायतका संस्थाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बीटुका पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशी र नारायणी मोटर्सका संरक्षक गंगादेवी चुकेले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो । लायन्स क्लब इन्टरनेशनल ३२५ बीटुका पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशीले चितवन देशकै मध्यभागमा रहेकोले यहाँ रगतको माग अत्यधिक हुने गरेको बताए ।

मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको चितवनमा रगतको माग पूरा गर्नका लागि लायन्स क्लब तथा विभिन्न संघसंस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्नु खुसीको कुरा भएको जोशीले बताए । रगतको आपूर्तिमा सहजता ल्याउनका लागि आफूहरुले नियमित रुपमा हरेक तीन/तीन महिनामा रक्तदान गर्दै आएको कार्यक्रमका अध्यक्ष एवम् एभरेष्ट सहकारी संस्था लिमिटेडका अध्यक्ष बालगोपाल चुकेले बताए । स्वस्थ व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्ने उल्लेख गर्दै चुकेले रक्तदान गर्नु पूण्यको काम भएको बताए ।  

प्रतिक्रिया दिनुहोस