पर्सा। वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको हो । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ ।
भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । 'यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार सञ्चालन गर्न लागेका हौँ,' उनले भने ।
रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी स्टल रहने उहाँले जानकारी दिए ।
शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री राखिने छन् । वीरगञ्ज महानगरपालिकाले अघिल्लो वर्ष पनि नयाँ वर्षका अवसरमा रात्रि बजार सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० लाखको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा