राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, १३ : ०७
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कार्य क्षेत्रभन्दा बाहिरका विषयले प्रवेश पाएको भन्दै एमाले सांसदले आपत्ति जनाएका छन् । बुधबार बसेको समिति बैठकमा एमाले सांसद पृथ्वीशुब्बा गुरुङले सहकारी ठगी प्रकरणको विषय समितिमा उठेको भन्दै आपत्ति जनाएका हुन् ।

 

समितिको कार्यक्षेत्रमा सहकारी विषय नपर्ने उनले बताए । 'सहकारीसँग जोडिएको विषय सम्बन्धित समितिमा छलफल हुनुपर्‍यो । यहाँ छलफल हुने होइन,' उनले भने, 'आफ्नो रिस कहाँ छ त्यहीँ पोख्ने ठाउँ हो र यो ? हामीले गर्ने होइन । सम्बन्धितले समितिले गर्ने हो ।'

उनले यति भनेपछि समिति सभापति रामहरि खतिवडाले गृहमन्त्रीबारे प्रश्न उठेकोले विषय प्रवेश भएको बताएका थिए ।

त्यसपछि पनि गुरुङले आफ्नो असन्तुष्टि भने जनाइरहे । 'समितिको दायरा होला नि ! कार्यक्षेत्रबाहिर गएर जता पनि छलफल चलाउने हो र ?,' उनले भने, 'यहाँ सहकारीको छलफल गर्ने हो भन्ने मलाई लाग्दैन । सहकारी मन्त्रालय होला नि त । अर्थ मन्त्रीले गल्ती गरेको भए यहाँ छलफल गर्ने ? एजेण्डा तोकेर बैठक बोलाउने र त्यही विषयमा छलफल गर्नुपर्छ ।'

 

 

अन्तिममा सभापति खतिवडाले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । गुरुङले सरकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई कहाँ छन् ? भन्दै गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका थिए । 

समिति बैठकमा कांग्रेसकै सांसद दिलेन्द्र बडूले सहकारी प्रकरणबारे कुरा उठाएका थिए । बडूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने अडान दोहोर्‍याएका थिए । बडूले गृहमन्त्रीमाथि छानबिन हुँदा लोकतन्त्र झन् सबल हुने दाबी गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस