धनकुटामा व्यावसायिक पशुपालनतर्फ युवाको आकर्षण बढ्दै

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०७५, १९ : ४५
धनकुटामा व्यावसायिक पशुपालनतर्फ युवाको आकर्षण बढ्दै

धनकुटा । धनकुटा जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ युवाको आकर्षण बढ्दै गएको छ । खासगरी गाउँघर छोडेर अन्यत्र गएका युवा ग्रामीण क्षेत्रमा फर्किएर पशुपालन व्यवसायमा आकर्षित भएका हुन् ।
धनकुटा नगरपालिका ६ खाल्डेका ३६ वर्षीय टिकाराज कार्की यसको गतिलो उदाहरण बनेका छन् । कार्की धनकुटामा सफल व्यवसायीको रुपमा पनि चिनिन्छन । उनी जिल्लाको अग्रणी गाईपालक कृषकको रुपमा स्थापित बन्दै गएका छन । कार्कीले दूध बेचेर विदेशमा काम गरेर कमाएको भन्दा बढी कमाईरहका छन । ०५७ सालमा जिल्ला निर्वाचन कार्यालय धनकुटाको कार्यालय सहयोगीको स्थायी जागीर छाडेर ८ वर्ष विदेश बसेका टीकाराज कार्कीले अहिले मासिक एक लाख रुपैयाँ भन्दा बढी घरैमा काम गरेर कमाउछन । २०५७ सालमा गरिबीको कारण ऋण तिर्न जग्गा बन्धकी राख्ने क्रममा १३ लाख थप ऋणमा फसेपछि वैदेशिक रोजगार अन्तिम विकल्प बनाएका कार्कीले नेपाल फर्किएर थालेको गाई पालनबाटै सबै ऋण तिरेर आम्दानी हात पार्न थालेका हुन । २०६३ सालपछि १ वर्ष मलेसिया, ५ वर्ष अफगानिस्तान र २ वर्ष इराक बसेर आएपछि उनले सहरमा ठूलो महल बनाउने सपना बुनेनन । बरु आफ्नै पुर्ख्यौली थलोमा नै गाईपालन व्यवसाय गर्ने निर्णय गरे । 

सबै जग्गा जमिन बन्धकी राखेपछि घरबारविहीन बन्ने अवस्थाको विकल्पको रूपमा वैदेशिक रोजगार अपनाएका कार्कीले जिउ ज्यानको प्रवाह नगरी जटिल युद्धरत मुलुकमा गएर जोखिम मोलेर केही कमाई पनि गरे । त्यहीँको कमाईलाई व्यावसायिक गाईपालनमा प्रयोग गरेर साहुको ऋणबाट समेत उनि मुक्त बनिसकेका छन । घरको आर्थिक अवस्था कमजोर भएका कारणले घर खर्च चलाउँदा नै अत्याधिक ऋणको भार बढेपछि विदेशिएका कार्कीले कमाएको २२ लाख खर्चेर हाल आफ्नै गाउँमा गाई फर्म सञ्चालन गरिरहेका छन ।

विदेशबाट स्वदेश फर्किएर परिवारको १३ लाख ऋण तिरेर गाईपालनमा लागेका कार्की एकजनालाई रोजगार दिएर आफ्नी श्रीमती देवी कार्की र आफू पनि स्वरोजगार भएका छन । २०७३ सालमा एक लाख ९० हजार लागतमा ३ वटा स्थानीय जर्सी गाईबाट माइदेवी कृषि फर्म सञ्चालन सुरु गरेका कार्कीले हाल लगानी थप गरेर होलिस्टेन जातका ११ वटा गाई पालिरहेका छन । उनले दुई वर्ष अघि थालेको व्यावसायिक गाईपालन व्यवसाय नमुना सावित भएको छ । उनको कमाई इराक र अफगानिस्थानको भन्दा बढी रहेको उनी बताउँछन । इराक र अफगानिस्थानमा नेटो सेनाको मेसमा काम गर्दा मासिक ९ सय अमेरिकी डलर कमाई हुँदा नेपालका ६०/७० हजार कमाउने उनी अहिले नेपालमा नै एक लाख कमाउछन । 

डेरीको जस्तो फ्याट नझिकी लाने भएकाले दूध मिठो र स्वादिलो हुने भएकाले बजारको माग पु¥याउन उनलाई समस्या छ । गाउँमा कुनै कुराको सम्भावना नभएपछि स्थानीय उद्धव वाग्लेको सल्लाहमा गाईपालनमा लागेको बताउने कार्कीले गाई फर्म विस्तार गर्न १० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती पनि सुरु गरेका छन । उनलाई पत्नि देवीले पनि साथ दिएकी छिन् । १ सन्तानका साथमा यी दम्पतीले केहि वर्ष अघिसम्मको कष्टदायी जीवन पछिल्लो समय सुखमय बन्दै गएको श्रीमती देवीले बताइन । 

बजारमा बस्ने टाठाबाठाले कृषक नाममा आएको अनुदान लिने र व्यवसायिक रुपमा काम गर्नेले अनुदान नै नपाउने र पाएमा पनि झारो टार्ने काम मात्रै भएको कार्कीको गुनासो छ ।
वैदेशिक रोजगारकाको नामै सुन्न नचाहने र देशमै केही गर्छु भनेर लागेका यस्ता युवाहरु राज्य पक्षवाट भने राम्रो सहयोग नपाएको गुनासो गर्छन । उनिहरुलाई सडक सगै वजारीकरणको समस्या बढ्दै गएको छ । देशमा रोजगारी नभएको भन्दै युवा शक्ति वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढिरहका बेला स्वदेशमै केही गर्न सकिन्छ भन्ने कार्की गतिलो उदाहरण बनेका छन । 

प्रतिक्रिया दिनुहोस