विकासले नयाँ गति लिन्छ : प्रचण्ड

शुक्रबार, २९ भदौ २०७५, २१ : ३४
विकासले नयाँ गति लिन्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।

कारोबार दैनिकले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी तथा व्यवसायी समूहले पनि त्यसमा सघाउनुपर्ने बताउनुभयो ।

जनतालाई आश्वस्त पार्ने गरी विकासका लागि मौलिक नीति र कार्यक्रम तय गर्दै जानुपर्ने र त्यसले मात्रै आर्थिक विकास र समृद्धिको मार्ग चित्रलाई फराकिलो बनाउन सक्ने उहाँको भनाई छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “राजनीतिक परिवर्तको साक्षी र नेतृत्वकर्ताको हैसियतले यस पटक पनि हामी सिर्जनात्मक भएर नयाँ शुरुआत गर्न सकेनौँ भने यो देशको भविष्य के होला भन्ने चिन्ता लागेको छ ।”

उहाँले विगतमा पञ्चायत, राजाको निरकुशता र दलहरुको कार्यशैलीलाई आरोपित गरेर जनताबाट क्षमा पाउने गरेको भए पनि अहिले हामीलाई त्यस्तो कुनै पनि आधार नभएकाले केही न केही गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो ।

विकास र समृद्धिको अभियान शुरु गर्ने निक्कै ठूलो अवसर आएको भन्दै उहाँले यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न आफूहरु क्रियाशील रहेको बताउनुभयो ।

सरकार र नेकपाले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएको भन्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्न पनि सबैको साझा प्रयत्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “हामीलाई भूगोग, प्रकृति, समाजले धेरै ठूलो अवसर दिएको छ । प्रकृतिले दिएको स्रोत र साधनलाई भौगोलिक र सांस्कृतिक विविधता भित्र लेखाजोखा गर्दै धनी राष्ट्रका रुपमा अगाडि बढ्ने पर्याप्त आधार दिएको छ । त्यसलाई सदुपयोग गर्नुपर्दछ ।”

छिटोभन्दा छिटो आर्थिक विकासका लागि चीन र भारतजस्ता ठूला देशले घेरिएको भूराजनीतिक अवस्थिति विकासका लागि वरदान सावित हुनुपर्नेमा जोड दिँदै उहाँले अब दृढ इच्छा शक्ति मात्रै जरुरी रहेको बताउनुभयो ।

देशभित्रै व्यावसायिक वातावरण बनाए मात्रै वैदेशिक लगानीकर्तालाई समेत भित्र्याउन सकिने भएकाले त्यसका लागि सरकार, राजनीतिक नेतृत्व र व्यवसायी सबै लाग्नुपर्ने उहाँको कथन थियो । राजनीतिक नेतृत्वले जोखिम मोलेर भए पनि आर्थिक विकास र समृद्धिका लागि विशेष पहल गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । रासस

प्रतिक्रिया दिनुहोस