स्कुल स्कुलमा प्रहरी कार्यक्रम

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, २० : ३८
स्कुल स्कुलमा प्रहरी कार्यक्रम

चितवन । समाजमा हुने घरेलु हिंसा तथा यौन अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरीले सोमबारदेखि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम शुरु गरेको छ । 
नारायणगढको बालकुमारी इङलिस स्कुलमा सोमबार चेतनामूलक कार्यक्रम गरी अभियानको शुरुवात गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले महिला हिंसा, बलात्कार र यौनजन्य क्रियाकलापलाई रोक्न  शिक्षक, शिक्षिका र विद्यार्थीको भूमिकाको बिषयमा बोल्नु भएको थियो ।
समाजमा रहेका हरेक व्यक्ति बिनाबर्दीका प्रहरी रहेको भन्दै उहाँले परिवार, नातागोता र छरछिमेकलाई सचेत बनाउनु पर्ने ढकालको भनाई छ । उहाँले लागुऔषध दुव्र्यसन, मादकपदार्थ सेवन, सामाजिक सञ्जालको दुरुपयोगले हुने असरका विषयमा विद्यार्थीलाई जानकारी गराउनु भएको थियो । 
कार्यक्रममा विद्यार्थीले अपनाउनुपर्ने सुरक्षात्मक उपायका बारेमा समेत बिद्यार्थीहरुलाई सचेत गराइएको थियो । बालबालिकालाई सुरक्षित राख्नका लागि स्कुल स्कुलमा प्रहरी कार्यक्रममार्फत जिल्लाका सबै सरकारी तथा नीजि बिद्यालयमा विद्यार्थीहरुलाई हिंसा र अपराध न्यूनिकरणका लागि जानकारी दिइने उहाँले बताउनु भयो । 
अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश नं. ३ प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पूर्ण मातहतका जिल्लामा सोमबारदेखि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस