काठमाडौँ । गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले आइतबार सफाइ पाएपछि उनी सोमबार जेलबाट रिहा भएका छन् ।
कारागारबाट निस्केलगत्तै सञ्चारकर्मीमाझ छविलालले कुरा नबुझीकन उजुरी गर्नेलाई पछि पछुतो हुने बताए । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’ पौडेलले भने, ‘उहाँहरुलाई पछतो हुनेछ । हामीलाई जे–जे भए पनि उहाँहरुलाई राम्रो होस् ।’
अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो । छविलालसहित घटनाका आरोपित १२ जनालाई चितवन अदालतले आइतबार सफाइ दिएको थियो । आरोपित आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला हुने चितवन अदालतले जनाएको छ ।
जेलबाट रिहा हुनु अघि नै छविलालका समर्थकहरु बाजागाजासहित डिल्लीबजार कारागार पुगेका थिए । अविरजात्रासहित छविलालको स्वागत गरिएको थियो । जेलबाट बाहिर निस्कँदा आफन्तबीच छविलालका आँखा रसाएका थिए ।
२०६१ साल जेठ २४ गते एसएलसी दिएर रत्ननगरमा रहेका हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला रत्ननगरको बकुलहरमा गोली हानी कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । छोराको हत्यारालाई कारबाहीको माग गर्दै आमा गंगामाया र बाबु नन्दप्रसादले लामो समयदेखि अनसन बसेका थिए । अनसनको क्रममा बाबु नन्दप्रसादको निधन भइसकेको छ । आमा गंगामायाले केही दिनमात्र अनसन तोडेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०७५, ११ : ४३
लेखकबाट थप