कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् ।
निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाएका उनी पाँच दाजु-भाइले बाँड्दा दुई कट्ठामा समेटिए । गाउँमै खेती किसानी गरेर जीविका चलाउँदै आएका उनले व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएको बताए ।
विगत आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उनले अहिले वार्षिक रु नौ लाख बचत गर्ने जानकारी दिए । “मैले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने, “यहाँ उत्पादन भएको तरकारी धनगढी, महेन्द्रनगर, बेलौरी र आइबीआरडीलगायत बजारहरुमा खपत हुन्छ ।”
चौधरीजस्तै पछिल्ला केही वर्षयता कञ्चनपुरमा व्यावसायिक तरकारी खेतीमा थारू समुदायकको सक्रियता बढ्दै गएको छ । पुस्तौँदेखि खेती र पशुपालनबाट जीविका चलाउँदै आएका उनीहरु नगदे बालीका रुपमा तरकारी खेती थालेपछि आयआर्जन समेत बढेको बताउँछन् ।
“सुरुमा दुई÷तीन कट्ठाबाट तरकारी खेती थालेको थिएँ,” किसान धम्मलराज चौधरीले भने, “धान, गहुँ खेतीबाट तरकारीमा मुनाफा बढी हुने देखिएपछि व्यावसायिक रुपमा तरकारी खेतीमै लागेँ ।” उनले तरकारीको मूल्यमा थपघट हुँदा किसान प्रभावित हुने गरेको बताए ।
उनले तरकारीबाट मासिक रु ७५ हजार आम्दानी हुने गरेको बताउँदै सो रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च भइरहको जानकारी दिए । “तरकारी खेतीका क्रममा कृषि सेवा केन्द्रबाट अनुदानमा बीउबिजनका साथै विभिन्न तालिम समेत लिएको छु,” चौधरीले भने,“तरकारी खेतीमा सक्रिय किसानलाई नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले पनि सहयोग गरिरहेको छ ।”
उनले तरकारीबाट भएको आम्दानीबाट अहिले गाउँमा ६ कोठे पक्की घर निर्माण गरिरहेको बताए । “किसानको आवश्यकता बुझेर सरकारी निकायले अनुदान र सहयोग गर्नुपर्छ,” उनले भने, “त्यसका लागि किसानसम्मै पुग्ने संरचना दरिलो बनाउनु आवश्यक छ ।”
उनले पडाव गाउँमा अहिले ३० जनाभन्दा थारू समुदायका किसान व्यवसायी तरकारी खेती गरिरहेको बताए । त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सुनिल चौधरी पनि गाउँका सफल व्यावसायिक तरकारी खेती गर्ने किसानको सूचीमा पर्छन् । गाउँको इन्द्रेणी कृषक समूहको अध्यक्ष रहेका उनले गाउँमा दुई सय बिघा जमिनमा किसानले तरकारी खेती गरेको बताए । “गाउँलाई तरकारीको नमूना क्षेत्र बनाउने योजना छ,” चौधरीले भने, “तरकारी खेतीमा लागेका प्रायः किसानको आम्दानी राम्रै छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तरकारी खेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी
राहदानी बाकसमा थन्क्याएर श्रीमान् श्रीमती नै तरकारी खेतीमा
ज्याला मजदुरी छोडेर तरकारी खेती, वार्षिक लाखसम्म आम्दानी
महिला समूह बनाएर गरिएको तरकारी खेतीबाट मनग्य आम्दानी
हिल्दुमका किसान तरकारी खेतीमा आकर्षित
विद्यालयमै च्याउ र तरकारी खेती, पढ्दै कमाउँदै विद्यार्थी