स्याङ्जा । एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका-१४ हुल्काङका कमला पति डुम्रेले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनी तरकारी खेतीमा होमिएका हुन् ।
एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारी खेती सुरु गरेका डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो । “समयानुसारका मौसमी तथा बेमौसमी तरकारी, बिरुवा उत्पादन गरी बिक्री गर्दै आइरहेको छु”, उनले भने, “कृषिबाट नै राम्रो आम्दानी भइरहेको छ ।” डुम्रेले टनेलभित्र र बाहिरी जमिनमा बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काँक्रा, मुला, भेण्टा, घिरौँला, करेला, टमाटर, आलुलगायतका तरकारी उत्पादन र बिक्री गर्दै आएका छन् । उनले हाल झण्डै छ रोपनी जमिनमा तरकारी खेती गर्दै आएका छन् ।
“तरकारी तथा बिरुवा बिक्रीबाट एक वर्षमा छ लाख ५० हजार आम्दानी भयो”, उनले भने, “यहाँ उत्पादन भएको ताजा तरकारी बिक्रीका लागि हालसम्म कुनै समस्या भएको छैन, बिक्री भएन भन्ने चिन्ता छैन ।”
स्याङ्जा र पर्वतको सिमानामा रहेको हुल्काङबाट सबैभन्दा नजिकको दुरीमा रहेको पर्वतको पैयुँ गाउँपालिकाको हातेमालो चोक बजारमा खपत हुने गरेको छ । हातेमालो चोकसँगै केही तरकारीहरू स्याङ्जाको वालिङ बजारमा खपत हुने गरेको उनले सुनाए । वालिङ-हातेमालो चोक जोड्ने सडकको किनारामै भएकाले यहाँ चल्ने सवारीसाधनमार्फत बजारीकरणमा सहज भएको डुम्रेले बताए ।
डुम्रेले व्यावसायिक तरकारी खेतीसँगै बाख्रा पालन, कागती, अमिला जातका फलफूलको खेती पनि गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ पुस २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहानका किसान रतन साहले फलाए रंगीन काउली