सरकारका कामले जनप्रतिनिधि र व्यवस्थाप्रति प्रश्न उठ्यो : नेता कँडेल

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, ११ : ५८
सरकारका कामले जनप्रतिनिधि र व्यवस्थाप्रति प्रश्न उठ्यो : नेता कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको गलत कामकारवाहीका कारण जनप्रतिनिधि र व्यबस्थाप्रति नै जनताले प्रश्न उठाउने स्थिति पैदा भएको आरोप लगाएका छन् ।

जनताको तीब्र विकासको आकांक्षा, कर्णाली प्रदेशको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नहुँदा आमजनतामा निराशा छाएको एमालेको भनाइ छ ।

‘वास्तवमा यस्तो परिस्थितिको निर्माण हुनु आफैमा दुखद छ र अझैपनि सरकारको नेतृत्व सुधार गर्नेभन्दा थप गलत कार्यहरुलाई प्रश्रय दिनमा बढी अग्रसर देखिन्छ’, आइतबार पत्रकार सम्मेलन गर्दै नेता कँडेलले भनेका छन्, ‘योजना निर्माणमा अपारदर्शिता व्याप्त छ, भ्रष्टाचार, कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा सरकार उद्दत छ ।’ एमालेले कर्णाली सरकारको विगत एक वर्षको अवधीमा कार्य प्रगति न्यून, निराशाजनक छ र बेरुजु उच्च रहेको जनाएको छ ।

एमालेले सदनमा प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, कर्णालीको समृद्दी, सुशासन र पारदर्शिताका विषयमा पटकपटक घच्घच्याउने काम गरिरहेपनि नसुनेको जनाएको छ ।

पत्रकार सम्मेलनमा माघ १२ गते बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकका निर्णय सार्वजनिक गर्दै गठबन्धन सरकार जनता र प्रदेशप्रति अनुत्तरदायी भएको तथा आम जनताका आकांक्षालाई बुझ्न नसक्नुका साथै सरकार असफलतातर्फ अघि बढेको ठहर गरेको छ ।

एमालेले जाजरकोट र रुकुम पश्चिम जिल्लामा गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पका कारण क्षति बेहोरेका पीडितहरुले अहिलेसम्म पनि प्रभवकारी ढंगले राहत, पुनस्थापना र क्षतिपूर्ति नपाएको जनाएको छ ।