खानेपानीमा पनि सहुलियत हुनुपर्छ : मन्त्री बिना मगर

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, २० : १५
खानेपानीमा पनि सहुलियत हुनुपर्छ : मन्त्री बिना  मगर

झापा । खानेपानी मन्त्री बिना मगरले खेती गर्दा किसानलाई छुट्टै महसुल व्यवस्था गरेझैँ खानेपानीमा पनि सहुलियत दिनुपर्ने बताउनु भएको छ । उहाँले यसका लागि पहल गरिने बताउनु भयो ।

शुक्रबार बिर्तामोडस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी प्रशोधन प्रणाली उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले खानेपानी आधारभूत आवश्यकता भए पनि अघिल्ला सरकारको प्राथमिकतामा कहिल्यै पर्न नसकेको बताउनुभयो । मन्त्री मगरले खानेपानी मन्त्रालय व्यवस्थित योजनासहित अघि बढेको स्पष्ट पार्नुभयो । सरकारले तीन वर्षभित्र आधारभूत पानीको पहुँचको सुनिश्चितता गर्ने ग्यारेन्टी गरेको स्मरण गर्दै मन्त्री मगरले अझै पनि नागरिकले बिनाप्रशोधन पानी पिउन बाध्य रहेको बताउनुभयो । सरकारसँग एक–घर एक धाराको नीति भए पनि त्यो पूरा गर्न निकै कठिन रहेको उहाँको भनाइ थियो ।

बिर्तामोड–५ स्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई पानी प्रशोधन उपकरण जडान गर्न खानेपानी मन्त्रालयले रकम उपलब्ध गराएको छ । ४७ लाख रुपैयाँ लागतमा उपकरण जडान गरिएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस