पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका अशरफले दिए राजीनामा

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, ०९ : ५८
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका अशरफले  दिए राजीनामा

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डको अन्तरिम व्यवस्थापन समितिका अध्यक्ष जाका अशरफले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार पिसिबीको अन्तरिम व्यवस्थापन समित (आइएमसी) को बैठक बोलाएर अशरफले आइएमसीको अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

पाकिस्तानी समाचार संस्था डनका अनुसार उनले जिम्मेवारी निभाउन नसक्ने भन्दै पदबाट राजीनामा गरेका हुन्।

‘मैले राजीनामा बुझाएको छु। मेरा अन्य जिम्मेवारी पनि भएका कारण आइएमसीको अध्यक्षका रूपमा कर्तव्य पालना गर्ने समय नपाएपछि राजीनामा गरेको हुँ,’ डनसँग उनले भनेका छन्।

उनले छोटो कार्यकालमा आफूलाई समर्थन गरी सहयोग गर्ने आइएमसीका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे। उनले आफू पदबाट अलग रहेको पत्र पिसिबीका संरक्षक रहेका प्रधानमन्त्री अनवलउल हक काकडलाई बुझाएका हुन्।

आफूलाई विश्वास गरी अध्यक्षको जिम्मेवारी दिएकोमा उनले प्रधानमन्त्री काकडप्रति आभार प्रकट गरे।

अशरफले अघिल्लो वर्षको जुलाई मा आइएमसीको अध्यक्षको जिम्मेवारी लिएका थिए। त्यतिबेला उनलाई चार महिनाका लागि अध्यक्ष नियुक्त गरिएको थियो। पछि प्रधानमन्त्रीले उनको कार्यकाल तीन महिना थपेका थिए।

जाकाको नेतृत्वमा पनि पाकिस्तानको क्रिकेट विकासमा खासै उपलब्धी नभएको आरोप छ।