शेरधन राईले भने-'ओली प्रधानमन्त्री, म मुख्यमन्त्री'

सोमबार, १० पुस २०७४, १६ : ४०
शेरधन राईले भने-'ओली प्रधानमन्त्री, म मुख्यमन्त्री'

नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । उनले भने,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ, हामी साना–मसिना दलहरुलाई समेत समेट्ने गरी गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भोजपुरबाट प्रदेश सभामा निवाचित सांसद समेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे । ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यो त चुनावअघि नै अनुमान गरेको, बुझेको कुरा हो नि, यसमा अब कुनै विवाद, शंका वा द्धिविधा भन्ने कुरा छैन, हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ ।’

साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाई नहुने समेत जिकिर गरे । उनले भने,‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ, सरकार गठनको काम टुँगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुनपनि सक्छ।’

यद्धपी नेता राईले जनताले पार्टी एकताको लागि जनमत दिएको उल्लेख गर्दै पार्टी एकतापनि तत्काल सुरु हुने विश्वास दिलाए ।

उनले सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रवीच आलोपालो भन्ने विषयमा अहिले कुनै निश्कर्ष ननिस्किएको समेत स्पष्ट पारे । राईले भने,‘आलोपालोको विषयमा पनि छलफल चलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन ।’

निर्वाचन सम्पन्न भएको यतिका दिन वित्दापनि वर्तमान सरकारले राष्ट्रिय सभासम्बन्धीको अध्यादेशलाई अड्को थापेर विवाद र बहस सिर्जना गरेको उनले आरोप लगाए । उनले भने, ‘वर्तमान जनादेशबारे अहिलेको सरकारलाई राम्रो थाहा छ, जनमतको सम्मान गर्दै छिटो भन्दा छिटो मार्गप्रशस्त गर्नुपर्ने हो, तर यो सरकारले जनमतलाई अपमान गर्दैछ, अध्यादेशको नाममा देशलाई केही दिन बन्धली बनाउन सकिन्छ कि भनेर गलत काम गर्दैछ ।’

अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत वर्तमान सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विवादमा ल्याउने काम गरेको उनको आरोप थियो ।

राष्ट्रिय सभाको गठनबारे ड्राफ्ट गर्दाखेरि नै एकल संक्रमणीय नभएर बहुमतीयको आधारमा भन्ने सहमति भएपनि अहिले सरकारले एकल संक्रमणीय भन्नु गलत र सहमतिको ठाडो उल्लंघन भएको उनको गुनासो छ । ‘हामी सबै दललाई समेटेर अघि बढ्छौं, सहकार्य गर्छौ, तर कांग्रेस खासगरी अहिलेको सरकारले यसरी बखेडा झिक्नु स्वयम उसको लागि पनि हानिकारक छ’–राईले थपे ।

तपाईं प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने कुरा पनि छ नि ? भन्ने प्रश्नमा उनले भने,‘हो, म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दावेदार हुँ ।’ उनले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिनु बिल्कुल स्वाभाविक भएको स्पष्ट पार्दै भने,‘म आफैँमा बलियो इच्छाशक्ति भएको, काम गर्न सकिन्छ र सक्छु भन्ने दृढ भावना र संकल्प बोकेको, कुनै लोभ र स्वार्थ मनमा नभएको एक स्वच्छ एवं निष्कलंकित राजनीतिकर्मी र जनप्रतिनिधि हुँ त्यसैले प्रदेशको भूगोल, त्यसभित्रको सबै विविधता र सन्तुलनको अवस्था र सबै संवेदनशीलताको आधारमा म नै विकल्परहित मुख्यमन्त्रीको उम्मेदवार हुँ ।’
राईले आफू मुख्यमन्त्री भएपछि के–के गर्ने भन्नेबारे अहिले नै गुरुयोजना बनिसकेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस